आमा, भैंसी र घाँस
लाग्छ उनको आफन्ती, माइती र मावली सबै त्यै भैंसी नै हो। उनी हरेक दिन बिहानै ४ बजे उठ्छिन अनी गोठमा गएर आफ्ना भैंसी र बाख्राको स्थिती के कस्तो छ भनेर हेर्छिन। त्यसपछी आगो फुकेर भैंसीलाई पानी तताउछिन र भकारो सोहोर्नतिर लाग्छिन। भैंसी र बाख्रालाई पानी-पराल गर्दैमा बिहानको ६ बजिसकेको हुन्थ्यो। उनले उज्यालो नहुँदै घर पोत्ने लगायत अरु धेरै काम सकिसकेकी हुन्थिन। त्यति बेलासम्म केटाकेटी र श्रीमान सुतिरहेका हुन्थे।
घरको काम धेरै नै हुन्थ्यो,पानी भर्ने काम, गोबरग्याँसमा गोबर हाल्ने काम, घर-आँगन बढार्ने लगाएत अरु थुप्रै कामहरु हुन्थे। उनी हतार-हतार गरेर सबै काम सकेर भैंसी दुहुने काम तिर लाग्छिन।
त्यसपछी उनी हतार्-हतार गरेर दालभात तरकारी पकाएर जङगल जाने तरखरमा हुन्थिन, भैंसीलाई घाँस काट्न।
त्यतिबेलासम्म बिहानको ७ बजिसकेको हुन्थ्यो। तातो चिया हतार्-हतार सुरुप्प पार्दै “साथीहरुले आज छोडेर गइसके, बेर भो आज” भन्दै अत्तालिँदै डोको, नाम्लो र अरिया बोकेर चितवन राष्ट्रिय निकुन्ज पुग्थिन, भैंसीलाई घाँस काट्न। जङगलको बिचमा कता राम्रो कलिलो सिरुघाँस पाईन्छ भन्दै भौतारिन्छिन, उनको भैंसीको लागि। निकुन्जमा बाघ, भालु र गैँडाहरु घुमिरहेका हुन्थे।जङगली जनावरको आक्रमणबाट धेरै मान्छे घाइते भएको र केही त मरेको खबर पनि आइरहन्थ्यो। आफ्नै उमेरको पल्लो गाउँको आईमाईलाई पोहोर साल गैँडाले हानेर मारेको पनि सम्झिरहन्थिन।
त्यसो हुँदाहुँदैपनी मनमा डर बोकेर अनी पिठ्युँमा डोको बोकेर उनी दिनहुँ जङगल जान्थिन, भैंसीलाई घाँस काट्न।
टन्टलापुर घाममा, भोको पेटमा डोको भरी घाँस अनी घाँसले भरिएका बोरा बोकेर उनी उकाली उक्लदै आफ्नो घर आउँथिन। त्यतिबेलासम्म घाम बेस्सरी चर्किसकेको हुन्थ्यो। बिहान ७ नबज्दै पकाएर गएको भात हिउँचुलिको हिउँजस्तै भइसकेको हुन्थ्यो। केटाकेटी र श्रीमानले खाइसकेर छाडेका असरल्ल त्यी थाल र भाँडा वरपर माखा भन्किरहेका हुन्थे। घर पुगेपछी पहिला उनी भैंसीलाई घाँस हाल्थिन।
उनलाई आफ्नो भोकको भन्दापनी भैंसीको भोकको बढी पीर हुन्थ्यो।
भैंसीलाई घाँस हालेर गोबर सोहोरेपछी मात्र उनी भात खान भान्छातिर लाग्छिन। मानौं, उनको लागि भैंसी नै अत्ती ठुलो सम्पत्ति हो। एउटा असल बिद्ध्यार्थीले मिहेनत गरेर पढेजस्तै, उनी त्यस्तै मिहेनतका साथ भैंसीलाई घाँस काट्थिन। भैंसीले पानी नखाएको दिन, दुध दिन गाह्रो मानेको दिन उनी साह्रै दु:खित हुन्थिन र के भयो आज भन्दै साह्रै नरमाइलो मान्थिन। कहिँलेकाहीँ आफ्ना केटाकेटिसँग पनि रिसाउँथिन किनकी उनको भैंसीले आज पानी खाएको छैन, उनको भैंसी आज बिरामी परे जस्तो छ।
दिनभरिको आफ्नो घरको सबै काम सकेर उनी राती अबेर सुत्छिन। उनलाई भोली पनि छिट्टै उठ्नु छ र भोली पनि हतार्-हतार गर्दै जङगल जानु छ, भैंसीलाई घाँस काट्न।
सायद, सपनामा पनि उनी आफ्नो भैंसी अनि भैंसीको लागि जङगलमा गएर घाँस काटिरहेको देख्छिन होला।
घाँस काटेर जिवन बिताएका सम्पूर्ण आमाहरुमा समर्पित।
भविन धिताल (किसानको छोरो)
प्रगतिनगर,नवलपरासी