मास्टरका कविता –३
मास्टर मास्टर मास्टर
म सुनाइरहेछु कथा अनेक
म लगाइरहेछु बेली–बिस्तर
एक हातमा मार्कर अर्कोमा डस्टर
म,मास्टर मास्टर मास्टर
मोमेन्टम कोलिजनका पुराण सुनाउँदै
एनर्जी रहन्छ एक भन्दै गुनगुनाउँदै
म फलाकिरहेछु एक घनघोर असत्य
म गाइरहेछु एक मिथ्या तथ्य
लेखिरहेछ मार्कर मेटिरहेछ डस्टर
म,मास्टर मास्टर मास्टर ।
अधेंरो छ मसी अधेंरै छ जिन्दगी
पिल्सिएको मन राखेर बन्दगी
म पाठ गरिरहेछु इलेक्ट्रोन पुराण
म लेखिरहेछु एक भ्रमित सत्य
बाँचिरहेछु जीवन पूर्ण असत्य ।
म सुनाईरहेछु कथा अनेक
म लगाइरहेछु बेली–बिस्तर
एक हातमा मार्कर अर्कोमा डस्टर
विवश छ मार्कर विवश छ डस्टर
म, मास्टर मास्टर मास्टर ।
सम्पूर्ण मास्टरहरुमा समर्पित ।
ट्रिनिटी कलेज , २०७२ साल काठमाण्डौ ।