बा ले जहिले नि जुँगा राख्नुहुन्थ्यो। म सानो छदा मनमा प्रश्न उठ्ने गर्थ्यो -” बा ले जुँगा किन राख्नुभएको होला? अरु दाई अंकलहरुले त राख्नुभएको छैन।” मलाई साह्रै खुल्दुली हुन्थ्यो। मैले आमालाई एकपटक सोधें – ” आमा, केटा मान्छेले किन जुँगा राख्छन?” “केटा मान्छेको चिन्न हो त्यो “- आमाले भन्नुभयो। मलाई पनि बाको जस्तै जुँगा राख्ने रहर आयो। मैले एेना हेरें तर जुँगा देखिन। मैले फेरी आमालाई सोधेँ – “आमा अनी मेरो जुँगा खै त ?” आमाले हाँसेर भन्नुभयो- “बेला भएपछी आउँछ। ”
” मेरो जुँगा आउनी कहिले होला?” भनेर म सोचिरहन्थेँ । धेरै बर्ष पछी मेरो जुँगाको रेखी बस्यो। मलाई जुँगा आउन लागेको देखेर खुशी अनी अली अली डर लागिरहेको थियो। म एेना हेरिरहन्थे खास गरी मेरो जुँगाको लागि। बिस्तारै बिस्तारै मेरो जुँगा बाक्लियो। मलाई अब त जुँगा देखेर लाज पो लाग्न थाल्यो। मैले SLC दिएपछी एकपटक जुँगा फालें। मलाई साथीहरु सबैले जिस्काए ।
त्यसपछी बिस्तारै जुँगा आउनी र फाल्नी क्रम जारी भयो। जुँगा नराखी सफाचट भएको नै राम्रो लाग्न थाल्यो।
तर पनि मलाई बा को जुँगा मन परीरह्यो।
२०६८, नेपाल।