बा

” बा थेसिस गर्न लाई ल्याप्टप चाहिन्छ,साथिहरु सबैको छ।” मैले बालाई भने । बा नबोलि हातमा सुर्ति राखेर माड्दै हुनुहुन्थ्यो। केहि बेर पछि बा बिस्तारै बोल्नुभयो-“कति पैसा पर्छ ल्याक्टो को?”

अनपढ मेरा बा ले “ल्यापटप” लाई “ल्याक्टो” भन्नुभो । जिन्दगी घुम्तिमा चक्लेट बेचेर बिताएका मेरा बाले जानेको शब्द त्यहि “ल्याक्टो” थियो । मैले डराइ डराइ पचास वटा ध्रुबे हात्ती (हजार) लाग्ने बताएँ। बा फेरि पनि केहि नबोलि बसिरहनु भयो । बा ले खुय्य गरेर लामो सास फेर्दै भन्नुभयो-“अहिले पैसा छैन, अलि पछि सोचौला।”

हो सत्य कुरो मेरा बा सङ्ग पैसा नहुँदा – नहुँदै पनि मलाई काठ्मान्डु राखेर पढाउनु भयो। अधेरि रातमा समेत लाल्टिन बालेर मेरो आमाले घाँस काट्नुभयो र काट्दै हुनुहुन्छ । मेरो आमा बाट मैले मेहेनत गर्न सिके। बा बाट जिम्मेवारी जाने। धेरै साथीहरु भेटे। धेरै सहयोगी हातहरु भेटे। सहयोग पाएँ, माया पाएँ।

मेरो जीवनमा साथ दिने, हौसला दिने सबै लाई साधुबाद छ। म जहाँ जाउँला, जे बनुँला तर म एक किसानको छोरो हुँ। भारि बोक्ने आमाको सन्तान हुँ।
“मैले माटो चिनेको छु। मैले गाई,भैंसी अनि गोबर,हिलो मैलो चिनेको छु। मैले आमाको फुटेको खुट्टा चिनेको छु।

आफु धुजा – धुजा भएर एउटा आमा, एउटा पूर्ण मान्छे बनाउछिन। आफु मैलो र च्यातिएको ढाका टोपी लगाएर, एउटा बाबु जिन्स र कोट लाउने सभ्य पुरुष बनाउछ्न। प्राणाम छ ति आमा बाबा लाई ।

सम्पूर्ण बाबा- आमालाई समर्पित जसको संघर्शले एउटा असल ब्यक्ती जन्मिएको छ।

२०६९, प्रगतिनगर।