माइपोखरिमा एक दिन

ईलाम बजारबाट अली पर बिप्ल्याटे भन्ने ठाउँ छ। करिब रु ५० तिरेपछी सानो गाडीले त्यहाँ पुर्याइदिन्छ। बिप्ल्याटे बाट माइपोखरी जाने गाडी पाउँछ। हामी जाने बेलामा अली पानी पर्ला जस्तो देखियो। महिना त बैशाख नै थियो तर पहाडको ठाउँँ चिसो हुने, तराइ बसिरहेको मान्छेलाई। बोलेरो मालबाहाक गाडीको पछाडि बसेर यात्रा आराम्भ भयो। हामी ३ जना थियौँ। अरु स्थानिय केटाहरु पनि थिए।

बाटो अनौठो। मलाई सुरुमा डर लाग्यो। पछी ड्राइभर र खलासिको कुरा सुन्दा त्यो बाटो त धेरै राम्रो अरे । त्यो भन्दा धेरै खतरा बाटोहरु छन वरपरको पहाडमा भन्दै थिए। घन्च्यङमन्च्यङ हुँदै लागियो माइपोखरी तिर।

हरियाली पहाडमा यात्रा गर्दा मन पनि अानन्दित बन्दो रहेछ। फरक तरिकाको घरहरु। हुस्सु प्राय लागिरहने। मौसम धेरै छिटो परिवर्तन भइरहने।
केही घण्टाको यात्रा पछी माइपोखरी पुगियो। छेउछाउमा १-२ वटा घर थिए। होटल हरु। हामी माइपोखरी पुग्दा अबेर नै भइसकेको थियो। करीब साझँको ४ जती। हामी पोखरी हेर्न गयौँ।

आर्कै किसिमको आनन्द छायो। त्यस्तो केही बिशेष जस्तो नदेखिएपनी त्यहाँ पुग्दाको आनन्द अलौकिक थियो। जङलको बिचमा अवस्थित पोखरी। पानी सफा थियो। बिभिन्न ठाउँँबाट हेर्न मिल्ने बनाएको। पोखरिमा कमलका फुलहरु थिए। झुन्ड – झुन्ड लहरामा जेलिएर कमल फुलेको थियो, सेतो कमल, सफा कमल।

भानिज भाई र साथी भानु कमलको फुल टिप्न जोड गर्न थाले। नियमले त्यो टिप्न पैदाइन भन्ने मेरो कुरा थियो। धेरै प्रयास पछी उनिहरु एउटा कमलको फुल टिप्न सफल भए। त्यो फुललाई झोलामा राखे। २-४ वटा फोटो खिचे।

सुन्दर, शान्त अनी मनोरम थियो माइपोखरी। स-साना माछाहरु पोखरिमा। चराहरुको चिर्बिर आवाज, हरियो जङलको बिचमा पोखरी सार्है आनन्दित महसुस हुने रहेछ।
त्यहिबाट हिंडेर अर्को ठाउँँ जाने योजना थियो। जङलको बाटो । पछी नचिनेको बाटो नजाने निर्णय भयो।

नजिकको होटलमा गएर खाजा खाइयो। चाउमिन थुप्पा ।आजसम्म खाएको थुप्पामा सबैभन्दा मिठो थुप्पा माइपोखरी नजिकैको होटलको हो। होटलको नाम त याद छैन। पैसा पनि सस्तो। रु ६० मात्र।

त्यसपछी हामी त्यस्तै बोलेरो भ्यानमा फर्कियौँ ईलाम बजार। गाडीले पहिला बिप्ल्याटो ल्याइदियो। त्यसपछी आर्को गाडीमा हामी ईलाम बजार आइपुग्यौँ। ईलाम बजार घुम्यौँ। भोली बिहानै फर्किने भएकाले हामीले अलिकती चियापत्ती किन्यौँ। बम्बइसन र ललिपप पनि किन्यौँ। त्यसपछी हामी लज तिर लाग्यौँ।

खाना खाएर सुत्ने बेला भयो। मलाई माइपोखरिको खुब याद आइरहेको थियो। त्यी बाटाहरु, त्यी मान्छेहरु, त्यी गाइबस्तुहरु, त्यी हरिया फाटँहरु।
त्यी प्रकृति, त्यो सुन्दरता। साच्चैँ नेपाली पहाडहरु सुन्दर छन।

फेरी पुग्न भ्याइएला वा नभ्याइएला तर पनि माइपोखरीको याद आइरहने छ।