रिचार्ड फिलिप फैनम्यान ः एक अद्भूत भौतिकशास्त्री
रिचार्ड फिलिप फैनम्यानको जन्म मे ११ १९१८ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो । उनका बुबा एक साधारण व्यापारी थिए र आमा एक साधारण गृहणी थिईन् । उनका बुबाआमा जेउज धर्म मान्दथे तर फैनम्यान सानैदेखि ईश्वरमा विश्वास राख्दैनथे । उनी आफ्ना पिताबाट निकै नै प्रभावित थिए र जहिले पनि नयाँ कुरा सिक्न र सिकाउन प्रेरित हुन्थे । सानै उमेरदेखि नै उनलाई ईन्जिनिएरिङ्ग बिषयप्रति ठूलो लगाव थियो र आफ्नै घरमा सानो प्रयोगशालाको निर्माण गरेका थिए । उनी सानै उमेरदेखि नै बिग्रेका रेडियोहरु मर्मत गर्दथे । उनले स्कुल पढ्दाखेरि नै घरको सुरक्षाको निम्ति संकेत गर्ने घण्टी बज्ने पद्धतिको डिजाईन गरेका थिए ।
जब उनी हाईस्कुल पढ्न गए, त्यहाँ उनको आई क्यू टेस्ट परीक्षण गर्दा निकै नै उच्च पाईयो । उनले १५ बर्षकै उमेरमा ज्यामिति, बिजगणित जस्ता महत्वपूर्ण विषयमा स्वअध्ययन गरी दक्षता हासिल गरिसकेका थिए । उनले सन् १९३९ मा आफ्नो स्नातक तह म्यासास्यूट युनिभर्सिटी बाट पुरा गरेका थिए । उनले पि एच. डी. प्रिन्सटन यूनिभर्सिटी बाट गरेका थिए । उनको पहिलो सेमिनारमा सहभागी हुनेहरुमा अल्बर्ट आईन्सटीन, न्यूम्यान र पाउली जस्ता विख्यात वैज्ञानिकहरु थिए । तर उनले आफ्नो जीवनको लामो समय क्यालिफोर्निया ईन्सिच्यूट अफ टेक्नोलाजीमा बिताए ।
उनलाई प्रिन्सटनमा रहँदा भौतिकशास्त्री रोवर्ट विलसनले म्यानहाट्टन प्रोजेक्टमा सहभागी हुन सल्लाह दिए, जसले दोस्रो विश्वयुद्धको समयमा अमेरिकामा एटम बम बनाउँदै थियो । उनी जुनियर भौतिकशास्त्री भएकाले त्यतिबेला प्रोजेक्टको मुख्य समितिमा थिएनन् र प्रशासनिक काम हेर्ने गर्थे । तर पछि उनले एटम बम निर्माणको कम्प्यूटर प्रोग्रामिङ्गमा ठूलो काम गरे । जब जापानको हिरोशिमा र नागासाकीमा एटम बम खसालियो, त्यो घटनाले उनी साह्रै निरास भए ।
उनले क्वान्टम ईलेक्ट्रोडाईनामिक्समा नोवेल पुरस्कार प्राप्त गरे । त्यसबाहेक उनले धेरै गणितीय शुत्र र सिद्धान्तहरु प्रतिपादन गरे । उनले आफ्नै नामबाट पैmनम्यान डायग्राम बनाए जसले दिक्कालमा पदार्थहरुबिच हुने अन्तरक्रियाको बारेमा बयान गर्छ । शुरुका दिनमा उनको यो सिद्धान्तलाई वैज्ञानिकहरुले त्यति गहिराईमा नलिएपनि पछि यसको महत्व निकै बढ्यो । उनले पछि आफू चढ्ने भ्यानमा समेत पदार्थ बीचको अन्तरक्रियाको चित्रहरु नै बनाएका थिए । उनले क्वान्टम ईलेक्ट्रोडाईनामिक्स, क्वान्टम ग्रेभिटी, सुपरकन्डक्टिभिटी तथा न्यानोटेक्नोलोजी जस्ता बिषयमा पनि ठूलो खोज गरेका थिए ।
भौतिक विज्ञानमा ठूलो योगदान दिएपनि उनको आफ्नो व्यतिगत जीवन भने अलिकति अस्तव्यस्त रह्यो । पि एच. डी. गर्दागर्दै उनले पहिलो विवाह गरे तर पहिलो श्रीमती क्षयरोगबाट पिडीत भएर विवाहको चार बर्षपछि बितिन् । त्यसको बियोगमा उनले आफ्नी श्रीमतीलाई सम्झेर चिठ्ठी पनि लेखे तर जीवनभर त्यो चिठ्ठी कसैलाई देखाएनन् । उनले सन् १९५२ मा दोस्रो विवाह गरे तर त्यो सफल हुन सकेन, दुई बर्षमै सम्बन्ध टुट्यो । उनले त्यसपछि तेस्रो विवाह गरे जुन गहिरो र जीवनपर्यन्त रह्यो ।
उनले जीवनमा धेरै गहिरो कामहरु गरे । उनी संगीतमा पनि रुचि राख्थे र बाजा पनि बजाउंथे । भौतिक विज्ञानमा नयाँ तरिका र सिद्धान्तको प्रतिपादन गरे । तर उनलाई दुईवटा जटिल क्यान्सरले एक्कासि आक्रमण गरे । अन्ततः फेब्रुवरी १५, १९९८ मा ६९ बर्षको उमेरमा उनको निधन अमेरिकामा भयो ।
भविन धिताल
एम एस्सी, भौतिकशास्त्र, केन्द्रिय क्याम्पस, किर्तिपुर ।
लेक्चरर, ट्रिनिटी ईन्टरनेशनल कलेज, डिल्लीबजार, काठमान्डौं
फोन नं ९८४१८२४४०३ ।
* यो लेख २०७२ स्रावण महिनामा युवामन्चमा छापिएको थियो।