विज्ञान कथा – भुकम्प
गटटट् गटटट् एक्कासि आवाज आयो । उदय दोस्रो तल्लाको आफ्नै कोठामा अध्ययन गर्दै थिए । कम्पन बढ्दै गएपछि घर थरथर काँप्न थाल्यो । उनले थाहा पाए भुँइचालो गयो । चारैतिर हाहाकार मच्चियो, मान्छे कराउन, भाग्न थाले घर छाडेर । उनी कोठाबाट बाहिर निस्किए । त्यक्तिकैमा उनकी श्रीमती र १० वर्षे छोरा अमृत पनि भान्छा कोठाबाट दौडिएर आइपुगे । “भुँइचालो आयो, बिस्तारै नडराइकन बाहिर निस्किहालौं” उदयले भने ।
स–परिवार घर बाहिर निस्किएर । भूकम्पले गर्दा भौतिक संरचनाहरु हल्लिरहेका थिए । रुखहरु, बिजुली बत्तीको तारहरु हल्लिरहेका थिए । करिब तीन –चार मिनेट पछि कम्पन रोकियो । वरपर घरहरु चर्किएका थिए । पुराना घरहरु भत्किएका थिए । मानिसमा डर अनि भयले जरा गाड्यो । घर भित्र मान्छेहरु पुरिएको हल्ला थियो । वातावरण एकदम त्रसित बन्यो ।
एक्कासी १० बर्षे छोरा अमृतले बाबु उदयलाई प्रश्न गरे – “बाबा, यो के भएको ?” उदयले छोरातिर हेरे अनि छोराको टाउको सुम्सुम्याउँदै भने – “ बाबु यो भुकम्पले गर्दा हो ।” भौतिक भुगोल (जियोफिजिक्स) मा बिद्यावारिधि गरेर विश्वविद्यालयमा अध्यापन र खोज गर्दै आएका उदयले छोरातिर हेरेर छोटो उत्तर दिए । उनले छोराको आँखामा हेरे । जिज्ञासु स्वभावका अमृतका आँखा कौतुहलताले भरिएका थिए ।
एक्कैछिन पछि छोराले उदयलाई अर्को प्रश्न सोध्यो “ यो भुकम्प किन जान्छ ? भुकम्पको अर्थ के हो ? उदय एक्कैछिन रोक्किए अनि भने – “ भुकम्प भनेको अकस्मात् पृश्वीको बाहिरी भू–भागमा अनुभव गर्न सकिने गरी जमिन हल्लिने प्रक्रिया हो । शाब्दिक अर्थमा ‘भू’ भनेको ‘पृथ्वी’ र ‘कम्पन’ भनेको कम्पन हुनु वा हल्लिनु भन्ने हुन्छ । पृथ्वीको भित्री भू–भागमा हुने प्लेटस्हरुको चालले गर्दा यस्तो कम्पन हुन्छ । पृथ्वीको भित्र रहेका त्यस्ता प्लेट्सहरु लगातार एउटा गतिले चलायमान हुन्छन् । प्लेट्सहरुको गति विस्तारै बिस्तारै भइरहेको हुन्छ । जब प्लेट्सहरु ठोक्किन्छन्, तिनीहरुको किनारमा घर्षण हुन्छ । प्लेट्सहरु बीचमा प्रतिएकाइ क्षेत्रफलमा लागेको बल जति बेला त्यहाँ पैदा भएको घर्षण बलभन्दा धेरै हुन्छ, तब त्यहाँ शक्ति बिसर्जन हुन्छ, जुन शक्ति तरङ्गको रुपमा पृथ्वीको सतहसम्म आइपुग्छ । यही तरङ्गले कम्पन हुन्छ जुन हामी महसुस गर्छौँ ।
उदयले यति भनिसकेपछि अमृतले बुझे जस्तै गरी टाउको हल्लायो । वरपर मान्छेहरुको भीड बढ्दै थियो । कोही डराएर चिच्याउँदै थिए कोही लौ के भयो ? अब के गर्ने ? भन्दै अत्तालिदैँ थिए । मान्छेहरु सबैलाई सुरक्षित स्थानमा रहनका लागि प्रहरीहरु खबर गर्दै थिए ।
त्यत्तिकैमा अमृतले बाबु उदयलाई भन्यो –“बाबा, अब भुुकम्प सकियो, जाउँ घरभित्र ।” उदयले छोरातिर हेरे र भने –“ बाबु, यो भूकम्पको पहिलो झट्का हो । यसपछि पनि फेरि अर्को कम्पन जान सक्छ, त्यसैले तुरुन्तै घरभित्र जानुहुन्न, केहीबेरसम्म सुरक्षित ठाउँमै बस्नुपर्छ । खुल्ला ठाउँमा बस्ने गर्नुपर्छ । भूकम्प आफैमा खतरा होइन तर यसको कम्पनले गर्दा अरु बस्तुहरु ढलेर जनधनको क्षति हुन्छ ।
अमृतले फेरी सोध्यो –“ हामीले यसबाट बच्न के गर्ने त बाबा ? ” उदयले भने – “ भूकम्पको खतराबाट बच्न हामीले धेरै सतर्कता अपनाउन सकिन्छ । भवन बनाउँदा हामीले भूकम्प प्रतिरोध क्षमता भएका भवनहरु बनाउनु पर्छ । त्यसका लागि मापदण्ड अनुरुपका निर्माण सामग्री जस्तै राम्रा र बलिया फलामे डण्डीहरु, सिमेन्ट आदिको प्रयोग गर्नुपर्छ । भवन निर्माण स्थलको माटोको परीक्षण गराउनु पर्छ । । घरभित्र आफू बस्ने, सुत्ने ठाउँ वरपर अग्लो ठाउँमा गह्रौ बस्तुहरु राख्नु हुँदैन् । कम्पनले गर्दा त्यस्ता बस्तुहरु एक्कासी खसेर लाग्ने, अङ्गभङ्ग हुने, ठूलो चोटपटक लाग्ने हुन सक्छ । भूकम्प पछि पनि हामीले धेरै सतर्कता अपनाउनुपर्छ । भूकम्प गएपछि आत्तिएर दौडने, भवन माथिबाट डराएर हाम फाल्ने जस्ता कार्यहरु गर्नुहुँदैन् । आफू सुरक्षित हुनका लागि टाउको माथिहात राखेर बिस्तारै खुल्ला स्थानतिर आउनुपर्छ । आपतकालिन अवस्था आउँदा के गर्ने भनेर पहिल्यै सर्तकता अपनाउनुपर्छ ।
यति भन्दा भन्दै फेरि अर्को सानो धक्का महसुुस यो । अमृत डराएर आफ्नो बाबुतिर हाम फाल्यो । उदयले छोरालाई समाउँदै भने – “यो पराकम्पन हो । भुकम्प गएपछि पनि यस्ता सानातिना पराकम्पनहरु गईरहन्छन् । यस्तो बेला डराउनुहुन्न तर सतर्क चाहि रहनुपर्छ ।” वरपर मान्छेहरु अलि शान्त बन्दै थिए । आपतमा परेकालाई उद्धार गर्नका लागि मान्छेहरु हतास देखिन्थे । सुरक्षाकर्मीहरु भवन भत्किएका ठाउँतिर दौडिरहेका थिए । अन्य मानिसहरु पनि सहयोगका लागि जुट्दै थिए ।
उदयले छोरालाई भने –“हिडँ त्यो खुल्ला ठाउँमा जाउँ ।” उनले छोरा र श्रीमतीलाई खुल्ला चउरमा पु¥याए । एकै छिनपछि छोरा र श्रीमतीलाई त्यहीँ नडराई बस्न भने । त्यसपछि घाइते र अन्य मानिसको उद्धारको लागि उदय भवन भत्किएको ठाउँतिर लागे ।
भविन धिताल
लेक्चरर, अमृत क्याम्पस, ठमेल
ट्रिनिटी कलेज, डिल्लीबजार
* मे १२ सन २०१५ को भुकम्पपछी लेखिएको यो कथा ” मुना ” मासिकमा प्रकाशित।
Fri May 15, 2015 page (8-11) Muna Maasik
http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2015-06-14/7fef8d7fcdc60efa80606d31cdacf9ce.jpg