अनाहदको संगीत

‘ उ चाहान्थ्यो सुन्नलाई त्यी डुबेका मन्दिरहरुको घन्टिको आवाज। उसले आँफैलाई बिर्सियो त्यो आवाजको लागि। प्राप्तिको झिनो आशा पनि प्राप्तिमा बाधक बन्न सक्थ्यो।’

उसको संसार त्यती बेला आनन्द थियो जती बेला उ अन्धकारमा थियो। अज्ञानको मेहफिलमा ज्ञानका कुनै गजलहरु गुन्जीदैंनन। जतिबेला उ बुंदमा मस्त थियो त्यतिबेला उसलाई सागरको कुनै खबर थिएन। बेखबर आनन्द बन्न सक्छ जुन आनन्द सत्य होइन। अझ भनौँ उसलाई सत्य र असत्यको कुनै भेद थिएन। उ मस्त थियो, ब्यस्त थियो, सत्यको कसिमा उभ्याउन नमिल्ने गरी अस्तब्यस्त थियो।

स्पेस – टाइममा घटनाहरु घट्ने अनगिन्ती सम्भावनाहरु हुन्छन। हरेक घटनाका कारण हुन्छन र घटना घट्न सक्ने बाटाहरु पनि अनगिन्ती नै हुन्छन।

अङगुलिमालको जिबनमा घटे जस्तै या भनौँ रत्नाकरको जीवनमा घटे जस्तै, आज उसको जीवनमा पनि घटना घटेको छ। अज्ञानको जालो फाटेपश्चात ज्ञान स्वयम उजागर हुन्छ। आज ज्ञानको पुन्जमा उसको आत्मा आनन्दित छ। उ आत्मानन्द भएको छ।

आत्मानन्द ज्ञानको प्रकाशले पूर्ण नास्तिक बनेको छ।ज्ञान सिमारहित हुँदो रहेछ। अब उ कथित धार्मिक रहेन। निराकर नै सत्यको आकार रहेको उसको अनुभुतिले उसलाई आफु भएर पनि नभएको महसुस दिलाएको छ। मानब निर्मित कपोकल्पित रुपहरुमा सत्य देख्ने उसको जन्म आज आएर समाप्त भएको छ। एकाएक उसमा आएको परिवर्तन अलौकिक छ। उसको पुनर्जन्म भएको छ।

आज उसलाई दुनियाँ पागल देख्छ। उ पनि दुनियाँलाई पागल देख्छ। अब जीवनमा कुनै सिमाना रहेन। उ अब हिन्दू रहेन न त मुसलमान नै। उ अब कम्युनिस्ट रहेन न त कङ्ग्रेश नै। उसले सबैमा एउटै आकृति देख्न थाल्यो। उसको आँखामा प्रेम मात्र छचल्किन्थ्यो। हिजो उ यौवन र कामको उन्मादमा थियो। हिजो उ भेंडाहरुको हुलमा थियो। कहिले नारा लगाउँदै -” जिन्दाबाद ! जिन्दाबाद! ” त कहिले ढुङ्गा हान्दै -” मुर्दाबाद ! मुर्दाबाद!”

आज उ हिँडेको बाटो उही थियो, आसपासमा मान्छेहरु उही थिए मात्र ‘उ’ फरक थियो। ‘उ’ अब फेरी जन्मिएको थियो। बाटोमा हिँड्दै गर्दा उसले बिगत सम्झ्यो। उसले गरेका झगडा सम्झ्यो। कोलाहल अनी जीवनको अस्तब्यस्त सम्झियो। उसले भोगेका सुन्दर शरीरहरु सम्झियो। जीवनमा बेचैनी थियो। तनाब र छटपटी थियो। जीवन अन्धकार थियो। एकैछिन गम्भिर भएर बिगत सम्झियो। अनी फिस्स हाँसेर अघी बढ्यो।

अब उसलाई रोकिनुपर्ने कतै थिएन। मनलाई कुनै आशक्ती थिएन। प्यास बुझिसकेकाले उसलाई कतै अलमलिनुपर्ने थिएन। उ आफ्नो अन्तर-संगितमा मस्त थियो। हिजो उसले कोलाहल मात्र सुन्थ्यो आज मात्र संगित । बिना टकराव निस्किएको संगित – ” अनाहद”

उसमा यस्तो परिवर्तन कसरी आयो? मानिसहरु सोच्दथे अनी अनेक कुराहरु गर्थे। उ कसैलाई पनि अनुभुती बताउन सक्थेन। अन्तरको अनाहद जिब्रोको घर्षणद्वारा बयान गर्न सहज थिएन।

एक दिन उसलाई आफ्नो शरीरको सत्यता थाहा भयो। सत्य, शरीर असत्य हो भन्ने थियो। हरेक छटपटी र पिडाबाट मुक्ती पाउने उपाय अनुरुप उसले साधना सुरु गर्‍यो। उ चाहान्थ्यो मुक्ती। उ चाहन्थ्यो आफुभित्रको मन्दिरको दर्शन गर्न। उ चाहन्थ्यो सुन्नलाई त्यी डुबेका मन्दिरहरुको घन्टिको आवाज। उसले आँफैलाई बिर्सियो त्यो आवाजको लागि। प्राप्तिको झिनो आशा पनि बाधक बन्न सक्थ्यो । अन्तत: त्यो अनाहदको संगितमा उ आनन्दित बनिरह्यो।

-भविन धिताल

Page 1 of 2