म के गरुँ ……..?

घाँस काटेर घर फर्किदा, बाल्मिकी स्कुलले पनि त सोध्दो हो नि आमा ,
” तेरो छोरो कहिले आउँछ?” भनेर।
त्यो थापा घोल, त्यो छत्तिसघरका बाटाहरुले पनि त सम्झदा होलान नि? मैले जसरी नै।
हाइस्कुल जाँदा रमेश सर, चेतनारायण सरले बाटो माथितिर यसो हेर्नुहुन्छ होला है?
अरु साथीभाइले पनि त सम्झदा होलान नि मलाई? मैले जसरी नै।

आमा तपाईं त्यो बाल्मिकी स्कुललाई के जवाफ दिनुहुन्छ?
आमा, के म जिन्दगी भरी नै त्यी बाटाहरुलाई सम्झिरहुँ?,
जुन बाटाहरुले मलाई आज यहाँसम्म ल्याइपुर्याए ।
त्यी साथीभाइलाई मात्र सम्झिरहुँ?,
जसको अगाध माया र सहयोगले म यहाँ आइपुगेँ ।

आमा, तपाईं सानोमा जहिले पनि भन्ने गर्नुहुन्थ्यो – ” निम्सरोलाई उकास्न पर्छ।”
र मलाई थाहा छ कि आमा मेरो समाज, मेरो देश निम्सरो छ।
ल अब तपाईं नै भन्नुस् आमा म के गरुँ?

खडेरी पर्दा पनि तपाईं तरकारी लगाउनुहुन्थ्यो, बिउ राख्नुहुन्थ्यो।
गर्नुपर्छ, हुन्छ भन्ने कत्ती धेरै आशा थियो आमा तपाईंमा।
त्यही आमाको सन्तान म, भन्नुस् आमा म के गरुँ?

राती अधेरिमा पनि सकिनसकी बाले धान ठटाउनुहुन्थ्यो
कत्ती उर्जा र दायित्वबोध थियो बा तपाईंको कर्ममा ।
त्यही किसानको छोरो म, भन्नुस् बा म के गरुँ?

ज्ञानले मान्छेलाई कर्तब्यबोध गराउँछ, स्वतन्त्रता दिन्छ।
तर ग्रिनकार्ड र सिटिजनको पछी लागेर अरुले जस्तै
के यो बिदेशको भुमिमा म पनि दास बनुँ?
के म बिर्सिदिउँ बाल्मिकी स्कुल? अनी त्यी छत्तिसघरका बाटाहरु?
के म बिर्सिदिउँ आफ्नो साथीसँगी अनी आफ्नो उत्तरदायित्व ?

तपाईं भन्नुहोला आमा – ” यहाँ धेरै समस्या छ।”
तपाईं भन्नुहोला बा – ” यहाँ धेरै गाह्रो छ ।”

हिजो एउटा अंखोरा र एउटा कसौँडिले सुरु भएको जीवन
हिजो एउटा पातलो तुनावाला चप्पलले सुरु भएको जीवन
हिजो गाइभैंसी , गोबर घाँसबाट सुरु भएको जीवन
हिजो मेलापात, अर्मपर्म गर्दै सुरु भएको जीवन
हिजो समस्या र दु:खबाट सुरु भएको जीवन ……

तपाईंले पनि गाह्रो छ भनी आशा राख्न छोडेको भए ..?
तपाईंले पनि समस्या छ भनी अघी बढ्न छोडेको भए …?

इमान्दार भएर एउटा किसानले संघर्श गरेर बैज्ञानीक बनाउन सक्छ भने
त्यही किसानले बनाएको बैज्ञानीकले के बनाउन सक्दैन होला र बा???

म मेरा तुनावाला चप्पलले त्यी बाटोहरुमा बनाएको ढोभको मोल तिर्न चाहन्छु।
मेरा साथीभाइको सहयोग र हौसलाको कदर गर्न चाहन्छु ।
त्यो बाल्मिकी स्कुल जहाँ मैले जुटको बोरामाथी बसेर अक्षर चिनेँ
त्यो प्रथम ज्ञानको गुरुदक्षिणा दिन चाहन्छु ।
त्यो थापा घोलमा उभ्भिएर आनन्दको लामो स्वास फेर्न चाहन्छु।
….बा , म पनि तपाईंले जस्तै ठुलो संघर्श गर्न चाहन्छु ।
..आमा , म पनि तपाईंले जस्तै ठुलो मिहेनत गर्न चाहन्छु।
….भन्नुस् म के गरुँ?
…म के गरुँ?

# खेती किसानी संघर्श गरेर जीवन बिताएका मेरा सम्पूर्ण बा-आमाहरुमा समर्पित।
भविन धिताल ,थोमस जेफर्सन राष्ट्रिय एक्सलेरेटर केन्द्र , भर्जिनिया, संयुक्त राज्य अमेरिका।