मैले सानोमा कहिल्यै केक काटेर बर्थ डे मनाइन। म सानो छँदा केक देख्न धौ-धौ हुन्थ्यो, खानको त परको कुरा।
त्यसैले मैले न त कहिल्यै जन्मदिनमा केक काटें न त मेरा कुनै साथीभाइले केक काटेर मलाई बोलाए। प्राय: जन्मदिनमा आमाले सम्झिए देखी टिका लागाइदिनुहुन्थ्यो।
२ – ४ रुपैया दिनुहुन्थ्यो। कहिलेकाही त जन्मदिन गएको धेरै दिनपछी मात्र थाहा हुन्थ्यो। हुनत जन्मदिन थाहा पाउनु र नपाउनुमा कुनै भिन्नता थिएन।
आमा घरको काम अनी मेलापात गर्दैमा एकछिन फुर्सद नपाउने र बा आफ्नो काममा बिहानै देखी हिंडेको हिंड्यै गर्ने भएकाले जिबनको मुल उद्देस्य बिहान बेलुकाको छाक टार्नु थियो।
२ – ४ गेडा चामलको लागि संघर्शरत जिबनमा कताको जन्मदिन मनाउनु अनी कताको केक काट्नु? ?
प्रगतिनगर ३६ घरे गाउँको थापाको घोलमा बाख्रा चराउँदै अनी साथीभाइसँग खेल्दै झगड्दै मैले एस् ल् सि परिक्षा पास गरें।
२० रुपैयाँको हात्तीछाप चप्पल पड्काउँदै अनी चुंडिएदेखी टुकी बालेर टालेर घिसार्दै हिंडे। जीवन अभावमा चल्यो।
१ रुपैया पाउँदा संसार जितेजस्तो लाग्थ्यो मलाई, केक काटेर जन्मदिन मनाउने कहिल्यै सोच्न सकिन।
बाले बेला – बेलामा दर्शनका कुरा सुनाउनुहुन्थ्यो।देश भित्रकै कम्युनिस्टका अनी कहिलेकाही अन्तररास्ट्रिय कम्युनिस्टका कथाहरु सुनाउनुहुन्थ्यो।
कम्युनिस्ट बिचारधाराले प्रभाबित बा कम्युनिस्ट दर्शनका कुराहरु भनिरहनुहुन्थ्यो। दु:ख संघर्श अनी आमाका ति फुटेका खुट्टाहरुलाई देख्दा बाको कुरा ठीक लाग्थ्यो।
दु:ख मिहेनत गर्नुपर्छ, मजदुर सबैको सम्मान गर्नुपर्छ भन्ने भावना सानैबाट मनमा आयो।बाले जन्मदिन मनाउनुपर्छ भनेर कहिल्यै पनि भन्नुभएन, न त आमाले कहिल्यै केक किनेर ल्याइदिनुभयो।
बाले एकपटक पनि जन्मदिनको शुभकामना भन्नुभएन। हुन त बालाई जन्मदिन केक काटेर मनाउनुपर्छ भन्ने पनि थाहा थिएन होला। म बालाई केही दोष दिन चाहन्न।
दु:ख गर्दै काठमान्डौ शहरमा पढियो, लेख्ने जान्ने सुन्ने बुझ्ने अवसर पाइयो।
त्यसपछी त झन आफुलाई जन्म दिने आमाप्रती, आफ्नै आमाजस्तै घाँस बोकेर जिन्दगी बिताएका आमाहरुप्रती, अनी आफ्नो नेपालआमाप्रती धेरै श्रध्दा र सम्मान बढ्यो।
पढि सकेर जागिर खाइ २-४ हजार कमाउन थालेपछी पनि मैले जन्मदिन मनाइन। केक पनि काटिन। मनमा केक काट्नुपर्छ भन्ने कुनै उमङग आएन।
पढ्न बिदेश आउने बर्ष आमाले जन्मदिन मनाउने र केक काट्ने भन्नुभयो। मैले मानिन्। त्यस्तै रहर भए गाउँको बाल्मिकी स्कुल पढ्ने मनिषलाई २ – ३ सयको कापी कलम दिनु भनें।
त्यो काम पुरा हुन सकेन। म घर पुग्दा मनिष स्कुल छोडेर गइसकेको थियो। त्यो समय सार्है खल्लो भयो।
किसानको छोरो म बिदेश आएँ। अमेरिका मैले देखेको थापाको घोलभन्दा धेरै फरक रहेछ।
मैले थापाको घोलमा हुलका हुल गाई भैंसी र बाख्रा देख्थें तर यहाँ हुलका हुल मोटर कार देख्छु।
धेरै कुरा सिकेँ र सिकिराखेको पनि छु। संसार देख्दै छु र बुझ्दै छु। वरपर साथीभाइले जन्मदिन मनाएर फेसबुकमा फोटोहरु राख्छन। जन्मदिनमा बोलाउँछन पनि।
त्यो देख्दा पनि बा मलाई जन्मदिन मनाउन मन छैन।
बा, हुन त तपाईंका लेविले तपाईंका कम्युनिस्ट नेताहरु दरबार बनाएर बसेका छन। बेलायती ब्रान्डका सुट लगाउँछन।
तपाईंका पार्टिका नेताहरु हेलिकप्टरमा केक बोकेर जन्मदिन मनाउन गाउँ पुग्छन।
फेरी नेपाल आमा जस्तै ठुलो आकारको केक हेलिकप्टर बिना बोक्न सम्भव पनि त छैन। त्यती धेरै गाउँका मान्छेलाई केक जो खुवाउनु छ।
बा तपाईंका पार्टिका प्रधानमन्त्री हेलिकप्टरमा औषधी लिएर गाउँमा गएर बाड्न किन सक्दैनन? हुन त सम्ब्रिद्ध नेपाल सुखी नेपालीलाई औषधीभन्दा पनि केकको नै खांचो छ होला।
बा मलाई नजिकैको वालमार्टमा गएर ५-७ डलरमा केक किनेर ल्याउन अनी केक काटेर जन्मदिन मनाउन असम्भव छैन।
तर बा मलाई मजस्तै त्यी गाउँका बाल्मिकी स्कुलका केटाकेटिको याद आउँछ। के उनिहरुपनी हजुरका प्रधानमन्त्रिले जस्तै बर्थ डे मनाउछन? केक काट्छन?
बा म त बाख्रा चराएर हुर्केको मान्छे। मलाई तपाईंको प्रधानमन्त्रिको जस्तो केक काटेर जन्मदिन मनाउन रहर छैन, सुहाउँदैन ।
प्रधानमन्त्रिपो सुख्र र सम्ब्रिद्ध नेपालमा बस्नुहुन्छ। धुंवा धुलोरहित शहरमा बस्नुहुन्छ। उँहालाई केक काटेर जन्मदिन मनाउन सुहाउँछ।
उहाँ १४ बर्ष जेल बस्नुभयो। धेरै दु:ख संघर्श गर्नुभयो। त्यसैले प्रधानमन्त्रिले जन्मदिन मनाउन पाउनुपर्छ। नेपालजत्रै ठुलो आकारको केक काट्न पाउनुपर्छ।
बा जन्मेदेखी नमरुन्जेलसम्म घाँस काट्ने, खेत जोत्ने किसान अनी उसका परिवारका सदस्यले जन्मदिन मनाउन मिल्दैन बा ।
जसलाई जीवन चलाऊनै गाह्रो छ, २ मुठी चामलको जोहो गर्न गाह्रो छ उसले कसरी जन्मदिन मनाउने बा?
जीवन जिउन , जीवन बुझ्न र जन्मदिन मनाउन जेल बस्नुपर्ने रहेछ बा।
हलो जोत्ने , घाँस काट्ने किसानिलाई जीवन जिउन, जीवन बुझ्न र जन्मदिन मनाउन कुनै अधिकार छैन।
भविन धिताल ,फेब्रुअरी २३ , २०२०