बाटो बिराएका छबिलाल मास्टर…….

बि.सं. २०५२ सालतिर नेपाली समाज परिवर्तन गर्ने हुटहुटी चलेपछी चितवनका छबिलाल मास्टरले बाटो बिराए। जान-अन्जानमा हरेक मानिसले बाटो बिराउँछ। उनलाई लाग्यो – “बन्दुकको नालबाट गोली ननिक्लिकन समाज परिवर्तन हुँदैन।” त्यसका लागि ज्ञान सिकाउने कलमलाई थाती राखेर उनले बन्दुक समाउने निर्णय गरे। लगत्तै उनले गुरिल्ला युद्धको थालनी गरे। उनलाई साथ दिनको लागि देशैभरबाट धेरै मास्टरहरुले बाटो बिराए। मास्टरहरुको प्रशिक्षण र बिचारको प्रभावले देशैभरबाट धेरै मानिसहरु युद्धको बाटोमा हिँडे। एक्लै हिंड्नेले बाटो बिरायो भने आफु मात्रै हराउँछ। समुहलाई लिएर हिंड्नेले बाटो बिरायो भने सिङगो समाज हराउँछ, धकेलिन्छ अनि भड्खारोमा जाकिन्छ।

१७ हजार मान्छेको जीवनको अन्त्यसँगै युद्धको पनि अन्त्य भयो। १० बर्ष सम्म क्रान्तिको नाममा ठुलो धनजनको क्षति भयो। धेरैको ज्यान गयो। धेरै केटाकेटी टुहुरा बने।
संबिधानसभाको चुनाव भयो, सिंहदरबारमामात्रै सिमित कागजमा मात्रै लिखित “गणतन्त्र” आयो। हिजो युगान्तकारी परिवर्तको लागि लडेकाहरुको जीवनमा कुनै परिवर्तन आएन। जगजाहेर यस घटनाका हामी सबै साक्षी छौं। नेपाली समाजमा १० बर्षे गृहयुद्धका डोबहरु अझै ताजै छन।

आजभोली उनै बाटो बिराएका छबिलाल मास्टर झड्केलो भाषण गर्दैछन -” शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ।” उनले अझै आफ्नो देश कमजोर भएको देखेका छैनन, आफ्नो समाज थिच्चिएको देखेका छैनन, आफ्ना युद्धका सिपाहीहरुका शरीरमा दबिएका गोलिका छर्राहरु देखेका छैनन। उनले अझै पनि पार्टी देखेका छन, जुन मास्टर छबिलालको एउटा ठुलो भ्रम हो। उनी आफ्नो त्यो पार्टिको कुरा गरिरहेका छन जहाँ उनका युद्धका सहपाठीहरुले पूर्णरुपमा बिश्राम लिइसकेका छन। उनी आफु कमाण्डर भएर जितेको महसुस गर्छन् जहाँँ उनका सिपाहीहरु आफ्नो जीवनसँग पूर्णरुपमा हारेको महसुस गर्छन्। युद्धका बेलामा मास्टर भएर राजनीति गर्‍यो भन्ने आरोपमा यिनै कथित छलाङगबादिले लमजुङगका एक निर्दोष अधिकारी मास्टरको निर्मम तरिकाले हत्या गरे। आज आएर उनी स्वयम समाज परिवर्तनका संबाहक मानिने शिक्षकहरुलाई राजनीति गर्न उस्काइरहेका छन।

कृषि क्याम्पस रामपुरबाट स्नातक गरेका छबिलाल १० बर्षे युद्धमा देशलाई डोर्याउनु अघि उतिबेलाका एक शिक्षक थिए। बाटो परिवर्तन गरेपछी उनको नाम पनि परिवर्तन भयो। छबिलाल “प्रचन्ड” बने। युद्धको जग अनी बिस्तार तिनै शिक्षकहरुको अगुवाइमा नै भएको थियो। समाजमा रहेका शिक्षित र अशिक्षित दुबै तप्काका मान्छेहरुको बिचारलाई आफ्नो वाक्पटुता र चातुर्य क्षमताको प्रयोगले उर्जा दिएर १० बर्ष युद्धमा देशलाई हिँडाउने खास अर्थमा शिक्षकहरु नै थिए। यसर्थ, यो घटनाबाट पनि के पुष्टी हुन्छ भने शिक्षक एक त्यस्तो ब्यक्ति हो, जो समाजमा भिज्न सक्छ, समाजको मर्म बुझ्न सक्छ, समाजलाई परिवर्तनको बाटो देखाउन सक्छ, आफ्नो ज्ञान र कलमको सहायताले आफु अनुरुप आफ्नो समाजको चित्र कोर्न सक्छ, आफ्नो बिचराको प्रभावले समाजमा तरङग उत्पन्न गर्न सक्छ।

१० बर्षे युद्धले हाम्रो देश धेरै पछी पर्‍यो। नेपाली जनताको राजनैतीक चेतना अलिकती बढेको जस्तो देखिएपनी खासै कुनै परिवर्तन देखिएन। हामी जनता पहिलेको जस्तो गरी नै उहीँ एमाले, माओवादी, कांग्रेश र राजाबादी भन्दै हिँडिरहेका छौँ। समाज परिवर्तनको संबाहक भनेर मानिएका शिक्षकहरु पनि आ-आफ्नो दलको झन्डा बोकेर हिंड्ने कार्यकर्ता बनेका छन। ६२-६३ सालको जनआन्दोलनपछिको घटनाक्रमलाई हेर्ने हो भने हरेक राजनैतीक पार्टिले आयोजना गर्ने जनसभामा स्कुले विद्यार्थीको बाक्लो उपस्थिती देखिन्छ। काठमाडौँका विभिन्न बोर्डिङ स्कुलका विद्यार्थीहरुले राजनैतीक पार्टिका ब्यानर बोकेर प्रदर्शन गरेको पाईन्छ। त्यी सानो बालमस्तिष्कमा काङ्रेश, एमाले, माओवादी जस्ता विभाजनकारी शब्द र बिचार घुसाएर हामी कस्तो सम्ब्रिद्ध समाजको कल्पना गर्दैछौँ? विश्वविद्ध्यालयको पद्धतिलाई हेर्ने हो भने पनि राजनैतीक पार्टिका कोटा अन्तर्गत विश्वविद्ध्यालयका उपकुलपति लगायतका अन्य पदाधिकारी छानिन्छन। अन्वेषण र खोजको उच्चतम बिकासद्वारा समाज परिवर्तनको द्वार खोल्ने यस्ता प्राग्यिक थलोहरु पुरातन राजनैतीक सोचबाट ग्रसित छन। विभाजित मस्तिस्क र त्यसबाट निक्लने विभाजित बिचारहरुबाट समाज परिवर्तन असंम्भव छ। शिक्षाको ज्योति छर्ने शिक्षकहरुको सही मार्गदर्शनबाट एक असल र अनुशासित ब्यक्तिको जन्म हुन सक्छ जसबाट समाज परिवर्तनको संभावना रहन्छ।

तसर्थ, शिक्षक समाजका पथ-प्रदर्शक हुन, जसले समाजमा ब्याप्त कुरीती, बिसंगतिबाट समाजलाई माथि उठ्नको लागि बाटो देखाउन सक्छन, समाजलाई मुक्तिको बाटोमा अग्रसर गराउन सक्छन। समाजको छबी उच्च राख्नको लागि हरेक शिक्षकले आफ्ना विद्यार्थीलाई समानताको ज्ञान दिनु जरुरी छ, नैतिकता र अनुशासनको शिक्षा दिनु जरुरी छ। के राजनैतीक पार्टिका झन्डा बोक्ने शिक्षकबाट यस्तो परिवर्तन संभव छ?

आज एक झड्केलो मास्टर छबिलालले बाटो बिराउँदा समाजले ठुलो मुल्य चुकाउनु परेको छ। बाध्यताबस देशका लाखौँ युवाहरुले बाटो बिराएर कोही अरबको खाडीँ पुगेका छन त कोही अमेरिका, अस्ट्रेलियातिर हराएका छन। यो सबै घटनाबाट हामीले सिक्न जरुरी छ कि समाज परिवर्तनको लागि शिक्षकको महत्वपूर्ण भूमिका छ।जबसम्म शिक्षकले राजनैतीक पार्टिको झन्डा बोक्न छोडेर समाजमा सही र गलतको भिन्नता देख्न सक्ने गरी जनताको राजनैतीक चेतना उकास्ने कष्ट गर्दैनन, तबसम्म हामीले सोचेकोजस्तो समुन्नत समाजको निर्माण हुन सक्दैन।

भविन धिताल, जेफर्सन ल्याब, संयुक्त राज्य अमेरिका।, Nov 24, 2021
dhitalbhawin@gmail.com