आमा तिम्रै काखमा मरुँ
आमा जहाँ जाऊँ जे गरुँ
तर तिम्रैे काखमा मरुँ ।।
अग्लो शिर सगरमाथा देव पशुपति
जहाँ जता भए नि तिम्रै माया अति
ढाकाटोपी मेरो बाको पौरखी ती हात
माया गर्ने दाजुभाइ सबैको साथ
दसैं तिहार मेलापात कति रमाइलो
उदाउँदो गणतन्त्र कति घमाइलो
बगिरहन्छिन् नारायणी सधैं सलल
देशको माया मुटमा सधैं झलल
आमा, जहाँ जाऊँ जे गरुँ
तर तिम्रै काखमा मरुँ ।।
बहुलजात, बहुभाषी साझा चिनारी
विविधतामा एकता साझा फूलबारी
पूर्व मेची पश्चिम काली मेरो नेपालको
दक्षिणमा हरियाली उत्तर हिमालको
बुद्धको शान्तिशूत्र संसारभरि छ
सगरमाथा चुचुरो स्वर्ग सरि छ
जनकपुरको मिथिला सीता माताको
अरनिको कलाकौशल वीर गाथाको
सम्झँदा आमालाई आँसु भलल
देशको माया मुटुमा सधैं झलल
आमा, जहाँ जाऊँ जे गरुँ
तर तिम्रै काखमा मरुँ ।।
बाग्मती सफा भई बग्न थालिछन्
सुन्दर बाग सिर्जनाका धेरै माली छन्
मनिसका चेतनाको स्तर बढ्दैछन्
भ्रष्टचार, कुशासन बिस्तार घट्दैछन्
समावेशी, लोकतान्त्रिक संविधान बन्नेछ
संसारले नै नेपाल वाह ! वाह ! भन्नेछ
नवनेपाल, नवयुवा नवजोश जाँगर
आउँदैछ परिवर्तन विकासको लहर
सम्झँदा आमालाई आँसु भलल
देशको माया मुटुमा सधैं झलल
आमा,जहाँ जाऊँ जे गरुँ
तर तिम्रै काखमा मरुँ ।।
२०७१ जेठ, किर्तिपुर ।