मास्टरका कविता –२
हल्ला नगर
गाली गर्ने तिमीलाई छैन मेरो रहर
म भन्दैछु केटाकेटी हो हल्ला नगर ।
म कराईरहेछु सकी नसकी चिच्याईरहेछु लगातार
सिकाउनु छ केही कुरा दिनु छ जिवनलाई आकार
सानो छ तिम्रो विवेक, चुलवुले छ स्वाभाव
सानै छ तिम्रो उमेर, ज्ञानको छ अभाव
त्यसैले त तिमीलाई गरिरहेछु म माया
सिकाउनु छ तिमीलाई,छु तिम्रो दायाँ–बायाँ ।
तिम्रा ति मुहारमा म श्रीकृष्ण देख्छु
तिमीलाई बुझाउन म दुख गरी लेख्छु
तिमीलाई गाह्रो होस् चाहान्न म कहिल्यै
कसरी हुन्छ सजिलो ? सोच्दछु म जहिल्यै ।
तिमी छौ र त म छु, छ अनि अस्तित्व
म चाहान्छु सधैँ तिम्रो उज्यालो भविष्य
तिम्रो सपनालाई पार्नु छ साकार
तिम्रो जिवनलाई दिनु छ आकार ।
त्यसैले….. त्यसैले केटाकेटी हो
गाली गर्ने तिमीलाई छैन मेरो रहर
म भन्दैछु केटाकेटी हो हल्ला नगर ।
मेरा प्रिय विद्यार्थी केटाकेटी हरुमा समर्पित
२०७२ साल काठमाण्डौ ।