ईलाम (Ilaam)

” पानी मिठो मेरो हजुर ईलाम बजारको ।” यो गीत सानै देखी सुनेपनी ईलाम बजार गएको थिइन। बैशाख महिनाको रापिलो घाममा ईलाम पुगेर चियाबारी हेर्ने रहर मनमा जाग्यो। आत्मिय मित्र भानु रेग्मी झापा बस्थे। उनैलाई फोन गरेर झापा पुग्ने र त्यसपछी झापाबाट ईलाम घुम्ने योजना बन्यो। पछी भाई सुदेश पनि थपिए।

झापा छाडेर ईलाम जिल्ला पसेपछी मनमा अानन्द महसुस भयो। चिसो हावा, रमणिय परिबेश। साँच्चै नै आनन्द। जब म कन्याम पुगेँ मन हर्षले उड्न थाल्यो। चम्किलो घाम त्यसमा त्यो चियाबारी। सानो भ्यानमा अगाडिको सिटमा बसेर ति सबै दृश्य हेर्दा मन सार्है खुशी थियो। कन्याम हरियो थियो। जिबनमा पहिलो पटक चियाको बोट देखेर आश्चर्य पनि लाग्यो। पहाडको माथि माथि उड्ने बादल, तल जमिनमा चियाबारी।

नेपाली फिल्म को गीत याद आयो -” चियाबारिमा हो चियाबारिमा। ”

त्यसपछिको केही समयमा ईलाम बजार पुगियो। राम्रो बजार। पसलमा छुर्पी झुन्ड्याएर राखेको। चियाका पोकाहरु बेच्न राखेको। बिभिन्न नाम र ब्रान्डका, अरु बिभिन्न परीकारका खाने कुराहरु- बम्बैसन, ललिपप। दुधबाट बनाएको ति परिकारहरु खुब मिठा थिए। ईलाम बजारको बसस्टप वरपर राम्रा- राम्रा होटेल। सस्तोमा खान बस्नको सुबिधा थियो। एक रात बस्नको लागि ७००-८०० नेपाली रुपैयाँँमा डबल बेडरुम कोठा पाइने। खाना खाएको मात्रा रु १५०। मिठो खाना पाइँदो रहेछ।
भोलिपल्ट खाना खाएर माइपोखरी गइयो । ईलाम बजारबाट केही किलोमिटर अगाडि बिप्ल्याटे भन्ने ठाउँँ छ। त्यो ठाउँबाट माइपोखरी जाने गाडी पाउने रहेछ। एकदम मनोरम बातावरण, मनै लोभ्याउने।

माइपोखरीबाट फर्केपछी पनि त्यो दिन ईलाम बास बसियो। ईलाम बजार घुमियो। सार्है राम्रो ईलाम बजार। वरपरको स्कुल, भवनहरु, बि पि पार्क, फुटबल मैदान। सिमसिम पानी परेपनी आनन्द थियो। कहिले खुलेको जस्तो हुने त कहिले हुस्सु लाग्ने। मौसम एकदम छिटो परिवर्तन हुने।
यसरी २ दिनको ईलाम यात्रा धेरै रमणिय बन्यो। साथीभाइ सँग कन्याम घुमेर फोटो खिच्दाको अनुभव अलौकिक थियो।

ईलाम एउटा सुन्दर ठाउँँ हो। घुम्नै जानु पर्ने ठाउँँ।