” बा! म बिदेश जान्छु, मलाई पढ्न लेख्न सजिलो भयो भने उतै बस्छु सधैंभरी ” – मैले बा लाई भने। बा केही नबोली सुर्ती माडेर बसिरहनु भयो। मैले यसो बा को अनुहारमा हेरें । बा को अनुहारको रङग उडेको थियो। निन्याउरो मुख पार्दै रुन्चे स्वरमा बा ले भन्नुभयो – ” ठिकै छ, भाई छ नि हामी सँग।”
म अवाक भएँ । बा ले मलाई हेरेर टोलाउनुभयो। मलाई सह्य भएन। एक्कासी मेरो मुटु भक्कानिएर आयो। आँखा रसायो। मैले महसुस गरें – मैले बोलेको त्यो वाक्य मेरो जिबनको सबै भन्दा गलत र जिम्मेवाररहित थियो।
ब्यक्तिगत आबेगमा आएर मैले जे बोलें त्यो गलत बोलें । म पढेको मान्छे थियँ तर बुझेको मान्छे थिँइन।
म उहाँको ठुलो बाबु थिएँ, संसारको सबैभन्दा प्रिय मान्छे। म उहाँको बाबु थिएँ, ठुलो बाबु, उहाँको जेठो सन्तान। उहाँको विश्वाश र भरोसा नै म थिएँ। मलाई देख्दा उहाँ खुशी हुनुहुन्थ्यो। म घर बाहिर गएको छु भने ” घर फर्केर आयो ? ठुलो बाबु ” भनेर दसौँ पटक आमालाई सोध्नुहुन्थ्यो। म फर्केर नआएसम्म कुरेर बस्नुहुन्थ्यो। खाना खाने बेलामा पनि ” ठुलो बाबुले खायो?” भन्नुहुन्थ्यो।
म बा सँग एउटै ओछ्यानमा बसेर एउटै ब्लान्केट ओडेर फिलिम हेर्थें। बा हिन्दी फिलिम खुब हेर्नुहुन्थ्यो। म पनि बा सँगै बसेर फिलिमहरु हेर्थें, त्यहीँ निदाउथेँ बा सँगै, बा को काखमा। मेरो लागि जिबनको सबै भन्दा उत्कृष्ट र आनन्दको पल त्यही हुन्थ्यो -” मेरो बा को काख।”
तर म आज भन्दै थिएँ – ” बा म बिदेश जान्छु, सधैंको लागि, उतै बस्ने गरी । ”
म बिदेश जाने कुरामा बा एकदम दुखी हुनुहुन्थ्यो, त्यती नै खुशी बिद्ध्याबारीधी गर्ने भयो भनेर हुनुहुन्थ्यो। म पनि बा को सपना पुरा गर्ने भएँ भनेर खुशी थिएँ तर त्यती नै दुखी बा सँग बिछोड हुने कुरामा थिएँ।
बिदेश जाने बेलामा आमा आँशु झारेर नै रुनुभयो । बा ले आँशु झार्नु भएको थिएन तर म महसुस गर्न सक्थे भित्रभित्रै सबै भन्दा धेरै बा रोइरहनुभएको थियो।
बिदेश उड्ने दिन बा ले मलाई टिका लगाइदिनुभयो। मैले बा को खुट्टा ढोगेँ अनी गर्ल्याम्म अँगालो हालेँ ।मनमनै सोछेँ – ” अब म टाढा जाँदै छु बा लाई छाडेर नौ डाँडाँपारी।”
मनलाई दरो पारेर म एअरपोर्ट भित्र छिरेँ। म जती – जती गन्तब्य तिर उड्दै थिएँ , त्यती नै मलाई बा को याद आइरहेको थियो।
काठमाण्डौ बस्दाखेरी आमाले फोन गरेर घर कहिले आउँछस ? भनेर सोध्दा म भन्ने गर्थे – ” जुन दिन मलाई बा को याद आउँछ, त्यही दिन आउँछु।”
बा!, म जती टाढा भएपनी, जती गाह्रो भएपनी यदी हजुरलाई मेरो याद आयो भने भन्नुस् – ” ठुलो बाबु! ” । म आउँछु बा सबै कुरा छोडेर आउँछु, हजुर लाई भेट्न। मेरो लागि हजुर भन्दा ठुलो न त पैसा हुनेछ न पढाई न त अरु कुनै मान्छे।
हजुरको ठुलो बाबु।
नितान्त ब्यक्तिगत, नियमित डायरिबाट, २०१६ अगस्ट १४, भर्जिनिया, संयुक्त राज्य अमेरिका ।
– भविन धिताल
# सम्पूर्ण बा हरुमा समर्पित जसले हलो जोतेर आफ्नो छोराछोरिलाई शिक्षित बनाए