यादहरु…………..

यादहरु …….

एक नम्बरमा आमाको याद आउँछ। आमाले पकाएर खान दिएको याद आउँछ। महँगो डलर तिरेर किनेको रायोको सागको तरकारी खाँदा आमाले बारीमा रोपेको रायोको सागको याद आउँछ। क्याम्पस पढ्न जाँदा घरदेखी बाटोसम्म आमाले दाल, चामल, नुनतेल बोकेको याद आउँछ। बस चढेपछी आमा आसुँ झार्दै सुक्क सुक्क रोएको पलको याद आउँछ।
मलाई आज ‘ म ‘ बनाउन संघर्श गर्दा बोकिएका भारी र अनगिन्ती उकाली ओरालिले आमाको खुट्टा फुटेका छन। मलाई आमाका ति फुटेका खुट्टाको याद आउँछ। आमाको याद आउँदा सोच्छु – म घामले पोलेपछी उठ्छु ,आमा बिहान ४ बजे उठेर राती ९ – १० बजे सम्म काम गर्नुहुन्थ्यो।
=======================================0===============================================================================================
बाबाको याद आउँछ। मैलोधैलो अनी च्यात्तिएको ढाकाटोपी लगाएको चित्र याद आउँछ। चिल्लो कारमा घुमेर आफ्नो परिवारसँग सपिङ्मलमा सामान किनेको बेला, बा को एभालोन साइकलको पछाडी बसेर हाटबजार गएको, मेला हेर्न गएको याद आउँछ। जब दसैं आउँछ, तिहार आउँछ तब झलझली बा को याद आउँछ। अमेरिकन एगल, अडिडास जस्ता ब्रान्डेड सामान किन्दा खेरी बा ले लगाउने च्यात्तिएको गोल्डस्टार जुत्ताको याद आउँछ। बा को याद आउँछ अनी सोच्छु मैले बिनाब्याज पाएका क्रेडिट कार्डले परिवार धान्न गाह्रो छ। बा ले सयकडा ५ का दरले रिन लिएर परिवार कसरी पाल्नुभयोहोला?
======================================0================================================================================================
साथीभाइको याद आउँछ। थापाको घोलमा बाख्रा चराएको याद आउँछ। पान्लौरी, डन्डिबियो खेलेको, झुम्राको फुटबल खेलेको, कुरा नमिल्दा झगडा गरेको, हानाहान – भनाभन गरेको याद आउँछ। बिदेशिको बनाओटी हाँसो देख्दा हरेक दिन हृदयबाट माया गर्ने साथीभाइ आफन्तको याद आउँछ। जब बिदाको दिनहरु आउँछ तब साथीभाइको खुब याद आउँछ।
====================================0====================================================================================================
आफ्नै छोराछोरी मानेर ज्ञान दिने सर – मेडम हरुको याद आउँछ। बाल्मिकी प्रा बि, प्रगती प्रा बबि, जनज्योती मा बि हुँदैँ क्याम्पस पढ्दाका सबै सर – मेडमको याद आउँछ। तिमीले राम्रो गर्नुपर्छ है भन्दै प्रेरणा दिने सर – मेडमहरुको याद आउँछ। क्याम्पस पढाउँदाका सहकर्मी साथीहरुको याद आउँछ। पढाएका बिद्ध्यार्थीहरुको याद आउँछ। त्रिभुवन विश्वाबिद्यालयका प्रोफेसरहरुको, अमृत क्याम्पसको खुब याद आउँछ। जब अमेरिकन प्रोफेसरले पढाउँछन तब आफ्ना प्रोफेसरहरुले कती दु:ख गरेर नेपालमा पढएका रहेछन भन्ने अनुभुती हुन्छ। ति सबै आदरणिय प्रोफेसरहरुको याद आउँछ।
=================================0=========================================================================================================
मेरी आमालाई पनि त मेरो याद आउँछहोला नि? बा लाई पनि मलाई जस्तै मेरो याद आउँछ होला नि? मेरा साथीभाइ, आफन्त अनी सर – मेडमहरु सबैलाई मेरो याद आउँछ होला नि?

सात समुन्द्रपारी बाट मैले याद गरेर के मेरी आमाका फुटेका खुट्टामा मलम लाग्लान? मेरा यादले ६० बर्से मेरा बालाई साहानुभुती र आड मिल्ला? सँगै हुर्किँदा, खेल्दा मेरा साथीभाइले मलाई दिएको माया, हौसला र विश्वाशको मुल्य मेरा यादहरुले कसरी तिर्लान? के मेरा यादहरु मात्रै गुरुदक्षिणाको लागि काफी छन? मैले हिँडेका बाटाहरु, वरिपरी फुलेका फुलहरु, मैले श्वास फेरेका त्यी हावाहरु, त्यी सबैलाई के म याद मात्रै गरिरहुँ? के जिन्दगीभरी??सात समुन्द्रपारी रहेर के म याद र छटपटिमै बाँचिरहुँ?