हजुरबा,मन्तर र जनै

हजुरबा,मन्तर र जनै

हजुरबा मलाई बाबु भन्नुहुन्थ्यो र खुब माया गर्नुहुन्थ्यो ।
म सानामा हजुरबासङ्ग सुत्न खुब मन पराउथें ।
उहाँ हाते पंखा हम्काउदैं भन्नुहुन्थ्यो-” शिवजिको मन्दिरमा हम्कने पंखा, शिवजिकै मन्दिरबाट देखिन्छ लंका ।” मैले लंका त कहिल्यै पनि देखिन तर त्यती भन्दै गर्दा म निदाइसकेको हुन्थें । उहाँ अनेक -अनेक कथा र सिलोक सुनाउनुहुन्थ्यो ।
हात काट्यो भने के भनेर फुक्ने ? अरु बिरामी भएको बेला के भनेर फुक्ने मलाई बताउनुहुन्थ्यो ।
क्याम्पस पढ्न थालेपछि घर बस्ने समय कम हुँदै गयो र हजुरबा सँग पनि भेट कहिलेकाहीं मात्रै ।

जीवन सधैं सोचेजस्तो नहुने रहेछ ।
अनौठो तरिकाले हजुरबा बिरामी पर्नुभो ।
बंशाणुगत हिसाबले पनि धेरै बर्ष बाँच्नुपर्ने तर एक्कासी पक्षघातको आक्रमणले उहाँ थला पर्नुभो ।

म एम एस् सि पढ्न सुरु गर्दै थिंए । भर्नाको लागि पैसा लिएर काठमाडौं आउनुपर्ने भयो ।
मैले हजुरआमालाई जान्छु भनेर ढोगें, हजुरबा लाई हेरिरहें धेरै बेरसम्म तर म केही बोल्न सकिरहेको थिइन ।
मैले मन दरो पारेर रुमला झैँ गरी भने-” हजुरबा! म जान्छु ।”
यती भन्दाभन्दै मेरो आँखा रसाउन थाले ।
मैले हजुरबालाई ढोगेँ । उहाँ उठ्न सक्नुहुँदैनथ्यो । हजुरबाले सानो स्वरमा बोल्नुभयो -” ल रामरी जानु ।” यती भनेर उहाँ रुन थाल्नुभयो ।
उहाँको आँखाबाट आँसुको बर्षा भयो । मैले आफुलाई सम्हाल्न सकिन र म पनि नराम्ररी रोएँ ।

मन नरमाइलो मानिरहेको थियो । मलाई लाग्न थाल्यो शायद यो नै अन्तिम भेट हो कि ? ? ? म आँशु पुछ्दै घर बाट निस्केँ, गाडी चढेर काठमान्डौ आएँ ।

त्यसको केही महिनापछि घरबाट बिहानै भाइको फोन आयो- ” हजुरबा बित्नुभो ।” मैले भोलिपल्ट मात्र सुचना पाएँ । मन चिसो भयो, आँखा रसाए, शरिर काप्न थाल्यो । मैले वरिपरी हेरेँ, हरियाली ट्याँलाफाँट पनि मरुभुमी झै उजाड लागिरहेको थियो ।

हजुरबा बाट मैले धेरै कुरा सिकेँ । मेरो गुरुबा पनि उहाँ नै हुनुहुन्थ्यो, अनि एउटा अशल अभिभावक, एउटा सरल आनन्दि मान्छे ।

हजुरबा हाम्लाई छाडेर जानुभो । त्यसपछि उहाँका मन्तर र सिलोकहरु मानशपटलबाट बिलाउँदै गए ।
हजुरबा संगै मन्तर, सिलोक जप, जनै सबै परमधाम भए ।

(नितान्त ब्य्क्तिगत्, नियमित डायरिबाट)